नियम
मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
(१) ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः- (क) मतदान अधिकृतमा नियुक्त भएपछि निर्वाचन सम्बन्धी तालीम तथा अभिमुखिकरण कार्यक्रममा भाग लिने, (ख) निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइएका मतपत्र लगायतका निर्वाचन सामग्री रुजु गरी बुझी लिने, (ग) निर्वाचन कार्यालयबाट उपलब्ध गराइएका मतदान केन्द्र सम्बन्धी अन्य निर्वाचन सामग्री रुजु गरी बुझी लिने, (घ) आफूलाई तोकिएको मतदान केन्द्रमा खटाईएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने, (ङ) आफूलाई तोकिएको मतदान केन्द्रमा तोकिएको समयभित्र पुगी  आयोगद्वारा निर्धारित तरिकाले मतदान केन्द्र निर्माण गर्ने, (च) सुरक्षा, भौगोलिक कठिनाइ तथा अन्य कुनै मनासिब कारणले  तोकिएको मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन नसकिने भई तत्काल अर्को मतदान केन्द्र स्थापना गर्नुपर्ने अवस्था भएमा त्यसको जानकारी तुरुन्त निर्वाचन अधिकृतलाई गराउने, (छ) मतदान कार्यमा सहयोग गर्न आयोगले तोकेको सङ्ख्यामा स्वयंसेवक नियुक्त गर्ने, (ज)  मतदान कार्यलाई सहज तरिकाले सम्पन्न गर्न दल तथा उम्मेदवारका स्थानीय प्रतिनिधिसँग समन्वय गर्ने, (झ) मतदान कार्यलाई सुचारु रुपले अघि बढाउन चनाखो भई मतदान कार्यको निरन्तर अनुगमन गर्ने, (ञ) मतदानको दिन मतदानको गतिविधि सम्बन्धमा समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने, (ट) मतदानको दिन मतदान केन्द्रमा आउने विभिन्न घुम्ती टोली, पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता र सुरक्षाकर्मीलाई मतदान कार्यको अवस्था बारे जानकारी दिने, (ठ) मतदान केन्द्रमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा मतदान कार्य सम्पन्न गराउने, (ड) मतदान कार्य समाप्त भएपछि आयोगद्वारा स्वीकृत निर्देशिका बमोजिम मुचुल्का गराई मतपेटिका तथा अन्य निर्वाचन सामग्री आवश्यकता अनुसार सिल गरी सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउने, (ढ) प्रचलित कानूनी व्यवस्था र आयोगले समय–समयमा दिएका आदेश वा निर्देशनहरूको अधीनमा रही मतदान कार्य सम्पन्न गर्ने । (२) मतदान अधिकृतको प्रत्यक्ष निर्देशनमा रही मतदान कार्य सम्पन्न गराउन मतदान अधिकृतलाई सहयोग गर्नु सहायक मतदान अधिकृतको कर्तव्य हुनेछ । (३) काबु बाहिरको परिस्थति पर्न गई मतदान अधिकृतले मतदान कार्य गराउन नसक्ने भएमा सहायक मतदान अधिकृतले ऐन तथा यस नियमावली बमोजिम मतदान अधिकृतले गर्नुपर्ने भनी तोकिएका सम्पूर्ण काम कारबाही सम्पन्न गर्नु पर्नेछ । (४) उपनियम (३) बमोजिम मतदान अधिकृतले कार्य सम्पादन गर्न नसकेको जानकारी मतदान अधिकृत वा सहायक मतदान अधिकृतले तत्काल निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।